Thursday, August 21, 2025

देशभर लोडसेडिङ छैन, प्राविधिक समस्या मात्रै हो : कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य


१२ साउन, चितवन — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर लोडसेडिङ नभएको स्पष्ट पार्दै अहिले देखिएको विद्युत आपूर्तिको समस्या प्राविधिक पक्षसँग मात्र जोडिएको दाबी गरेका छन्।

आज चितवन पुगेका शाक्यले भरतपुरमा पत्रकारसँग कुरा गर्दै गर्मी बढेको, पानी नपरेको र कृषिमा अत्यधिक लोडका कारण वितरण प्रणालीमा समस्या देखिएको जनाउँदै, यसलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु गलत भएको टिप्पणी गरे। “लोडसेडिङ अब नेपालमा हुँदैन, कहिलेकाहीँ देखिने समस्या प्राविधिक मात्र हुन्,” उनले भने।

चितवनमा बढ्दो विद्युत माग, जीर्ण वितरण प्रणाली र समयमा सिष्टम अपग्रेड गर्न नसकिएको कारण समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले मंगलबार बेलुकासम्म समाधान हुने विश्वास व्यक्त गरे। “पहिले नै प्रणाली सुधार गरिनुपर्थ्यो, ढिलाइ भयो, अब समस्या चाँडै समाधान हुन्छ,” शाक्यले बताए।

हालै प्राधिकरणले सूचना जारी गरेर विद्युत आपूर्ति बन्द हुने जानकारी दिएपछि जनस्तरमा लोडसेडिङ पुनः सुरु भएको आशंका बलियो बनेको थियो। सोबारे प्रश्न उठेपछि शाक्यले कतिपय स्थानमा सवस्टेशनमा दबाब दिइएपछि यस्तो सूचना निकालिएको प्रतिक्रिया दिए। “लोडसेडिङको तालिका निकाल्न दबाब दिइयो, त्यही कारण केही गलत सन्देश गएको हुन सक्छ,” उनले प्रष्ट पारे।

शाक्यका अनुसार, खासगरी तराईका जिल्लामा किसानहरूले साँझ एकैपटक बोरिङ चलाउँदा लोड अत्यधिक भएको र प्राधिकरणले समय अनुसार प्रयोग गर्न आग्रह गर्दा पनि खासै पालना नभएको बताए। “हामीले साँझ ५ देखि ९ बजेसम्म नचलाउन भनेका थियौं, तर लागू भएन,” उनले भने।

शाक्य आज चनौली वितरण केन्द्र र हर्दीमा हालै जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मरको निरीक्षणमा निस्किएका छन्। हर्दी सवस्टेशनका इन्चार्ज रोशन खनियाँका अनुसार ट्रान्सफर्मरलाई नो लोडमा सफल परीक्षण गरिएको छ र ढिलोमा भोलिसम्म वितरण सुरु हुने अपेक्षा गरिएको छ।

प्राधिकरणले अब हर्दीबाट भण्डारा, चैनपुर, टाँडी लगायतका सवस्टेशनहरूमा विद्युत आपूर्ति गरी भरतपुर सवस्टेशनको लोड घटाउने तयारी गरेको छ। यससँगै पूर्वी र पश्चिम चितवनमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान हुने प्राधिकरणको विश्वास छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like