- by समाचार कक्ष
- Jul 11, 2025
१२ साउन, बुटवल — लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डे युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै पाण्डेलाई मन्त्री नियुक्त गरिएको हो। यसअघि युवा तथा खेलकुद मन्त्रालय स्वयम् मुख्यमन्त्रीकै जिम्मामा थियो।
शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, अन्य मन्त्रीहरू र विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
पाण्डेको नियुक्ति भने विवादरहित देखिएको छैन। तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता भए पनि, दलभित्रको छलफलबिनै मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्टि देखिएको छ। उपनेता कन्हैया बानियाले “संसदीय दलमा कुनै निर्णय नभएको” र “सञ्चारमाध्यमबाट मात्रै मन्त्री नियुक्तिको जानकारी पाएको” गुनासो गरेका छन्।
हाल लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ, जसमा ५ जना एमाले, ५ जना कांग्रेस, जसपाबाट एक र अब लोसपाबाट एकजना मन्त्री रहेका छन्।
पाण्डे यसअघि पनि दुईपटक मन्त्री भइसकेका छन्। तर, पछिल्लोपटक सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको लोसपाबाट फेरि मन्त्री बनेपछि उनलाई सत्तालोलुप भएको आरोप लागेको छ। उनको पुनः नियुक्तिले लोसपाभित्र गहिरो अन्तरविरोध चुलिएको देखिन्छ।