- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ७ साउन — भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। सभामुखले रास्वपाकी सांसद बिन्दवासिनी कंसकारलाई बोल्ने मौका दिएका थिए। सांसद कंसकारले सरकारसमक्ष पटक–पटक विशेष संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठनको माग गरे पनि बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरिन्।
त्यसपछि बोल्न पाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भिजिट भिसा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गर्दै आएका भए पनि सुनुवाइ नभएको गुनासो गरे। उनले निष्पक्ष छानबिन नभएसम्म राप्रपाले संसदमा सहभागिता जनाउन नसक्ने बताए।
दुवै दलका नेताहरूले आफ्नो धारणा राखेपछि सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्। यस घटनाले संसदमा पुनः राजनीतिक तनाब चुलिएको छ।