- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, साउन ६ — नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका छन्।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक महेश बर्तौलाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान र त्यसको संशोधन प्रस्तावबारे व्यापक छलफल गरेका थिए। त्यही क्रममा पूर्वराष्ट्रपति भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पनि छलफल भएको थियो।
“अहिलेसम्म धारणा राख्नुभएका अधिकांश केन्द्रीय सदस्यहरूले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा नै रहन उपयुक्त हुने सुझाव दिनुभएको छ,” बर्तौलाले भने, “उहाँको पुनः सक्रिय राजनीतिमा प्रवेशले प्रणाली र व्यवस्थाका लागि सकारात्मक नहुने धारणा व्यक्त गरिएको छ।”
बर्तौलाले बैठक आजै समापन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले निकट भएकी नेतृ मानिन्छिन्। संविधान जारी गर्दा र राष्ट्रपतिका रूपमा उनले लिएको भूमिका अझै पनि राजनीतिक बहसको केन्द्रमा रहने गरेको छ। यस पृष्ठभूमिमा एमाले नेताहरूबाट आएको यो टिप्पणी महत्त्वपूर्ण राजनीतिक संकेतको रूपमा हेरिएको छ।