- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, २१ साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ४५ जना नयाँ शाखा अधिकृतहरूलाई खटाइएको छ। गृह मन्त्रालयले सोमबारदेखि लोकसेवा आयोगबाट नयाँ नियुक्त भएका ती अधिकृतहरूलाई अध्यागमन कार्यालयमा जिम्मेवारी दिएकाे हो।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले तीन दिने प्रारम्भिक तालिमपछि अधिकृतहरू आजदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्न थालेको जानकारी दिएका छन्। सोही दिनदेखि सहसचिव नरहरि घिमिरेले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखका रूपमा कार्यभार सम्हालेका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक हुन्।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती ४५ अधिकृतहरूको नाम गृह मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालयले ती अधिकृतलाई अध्यागमन कार्यालयमा खटाइएपछि सोही संख्याका अन्य अधिकृतहरूलाई मन्त्रालयमै तानेको छ।
गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीका अनुसार दरबन्दीभन्दा बढी अधिकृत भएमा उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्य निकायमा सरुवा गरिनेछ।
यसैबीच, अध्यागमन र भिजिट भिसा प्रणालीमा देखिएको अव्यवस्था समाधानका लागि सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ। समितिलाई अध्यागमन प्रक्रियामा देखिएका समस्या समाधानका लागि नीतिगत, कानुनी र संरचनागत सुधारका तात्कालिक तथा दीर्घकालीन कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको छ। हाल उक्त समिति कार्यादेशअनुसार सक्रिय रूपमा कार्यरत रहेको जनाइएको छ।