- by समाचार कक्ष
- Mar 06, 2025
२१ साउन, सिराहा — सिराहा जिल्लाको नरहा गाउँपालिका–३ अन्तर्गत चोहर्वा–सिराहा सडकखण्डमा विशेष सुराकीका आधारमा गरिएको चेकजाँचका क्रममा तीन जना भारतीय नागरिक नलकटुवा पेस्तोलसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहार राज्य, मधुबनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। उनीहरू एकै मोटरसाइकलमा सवार थिए।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरी नेतृत्वको टोलीले उनीहरूलाई शंका लागी रोकेर खानतलासी गर्दा लुकाइराखिएको घरेलु निर्मित पेस्तोल फेला पारेको हो।
हाल तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर विस्तृत अनुसन्धान जारी रहेको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले दिएका छन्। उनका अनुसार, पक्राउ परेकालाई आजै सिरहा जिल्ला अदालतमा पेश गरि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ।