Thursday, August 21, 2025

प्रशिक्षक प्याट्रिक डे वाइल्डको राजीनामा


साउन ४, काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनले केही दिनअघि इमेलमार्फत राजीनामा बुझाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ।

एएफसी महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा भएको विवादास्पद घटनाका सम्बन्धमा स्पष्टीकरण माग्दै एन्फाले वाइल्डलाई पत्राचार गरेको थियो। उक्त पत्रको जवाफस्वरूप वाइल्डले नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका हुन्।

हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ विदेश भ्रमणमा रहेकाले प्रशिक्षकको राजीनामा स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय अझै नभएको एन्फा स्रोतले जनाएको छ।

छनोट प्रतियोगिताको क्रममा कप्तान चयनका विषयमा उत्पन्न विवादले प्रशिक्षक वाइल्ड र टिम व्यवस्थापनबीच सम्बन्ध चिसिएको थियो। वाइल्डले हालै एक अन्तरवार्तामा एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै संघमा सुधार नभएसम्म नेपाल नफर्कने बताएका थिए। उनी अहिले आफ्नै देश बेल्जियम फर्किएका छन्।

नेपाली टोली स्वदेश फर्किएपछि डेलिगेशन प्रमुख, टिम म्यानेजर र सहायक प्रशिक्षकहरुले पत्रकार सम्मेलन गर्दै उज्बेकिस्तानमा घटेका घटनाक्रम र कप्तान चयन विवादका लागि वाइल्डलाई नै दोषी ठहर गरेका थिए।

प्रतियोगितामा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाले पनि उज्बेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो। त्यसपछि टाइब्रेकरमा पराजित हुँदै नेपाल एसियन कपको अन्तिम चरणमा छनोट हुन असफल भएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like