Wednesday, August 20, 2025

मनसुनको वर्षाले राहत होइन विपद्: रौतहटमा ४० बिगाहा धानबाली डुबानमा


रौतहट, नेपाल — लामो खडेरीपछि सुरु भएको मनसुनले रौतहटका किसानहरूमा आशा जगाएको थियो, तर त्यो आशा केही दिनमै विपत्तिमा परिणत भएको छ। फतुवा विजयपुर नगरपालिका–५ स्थित सन्तपुर दोस्तीया क्षेत्रमा अविरल वर्षाका कारण करिब ४० बिगाहा क्षेत्रफलमा फैलिएको धानबाली डुबानमा परेको छ।

स्थानीय किसानहरू अमिर खान, नथुनी तलेवर, सेराज अन्सारी, नुराईन अन्सारी, आबिद अन्सारी, र ताहिरसहितका धेरैको खेत जलमग्न भएको छ। किसानहरूको भनाइअनुसार, पहिले सडकको किनारमा राखिएको होम पाइपबाट खेतको पानी निस्किन्थ्यो, तर हाल त्यो निकास अवरुद्ध हुँदा बाली डुबेको हो।

डुबानको मुख्य कारण सडक र उचित जलनिकासी व्यवस्थाको अभाव रहेको बताइएको छ। कटहरिया–सन्तपुर–कलैया सडकखण्ड नजिक सन्तपुर चोकबाट करिब २५० मिटर पश्चिमतर्फ उत्तरपट्टि पर्ने खेतहरूमा पानी थुप्रिएको छ। पानी ननिस्कँदा बाली मात्र होइन, नजिकैको बस्तीमा समेत पानी पस्न थालेको छ, जसले स्थानीयलाई थप चिन्तित बनाएको छ।

"रातभर पानीको डरले सुत्न सकिएन, बिहानसम्म धान कसरी जोगाउने भन्ने सोचले तनाव थपियो," एक स्थानीय बासिन्दाले बताए। भारी वर्षा दोहोरिए खाद्यान्न र घरधनीहरू दुबै संकटमा पर्ने खतरा देखिएको छ।

यसबीच, वडा अध्यक्ष एजाज अहमदले समस्या समाधानका लागि तत्काल पहल सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार, स्थानीय राजनीतिक दल, समाजसेवी र बुद्धिजीवीहरूको सहभागितामा छलफल गरी आजै सर्वदलीय बैठक राखी दीर्घकालीन समाधानका उपायहरूमा अघि बढ्ने निर्णय भएको छ।

रौतहटमा पछिल्ला वर्षहरूमा मौसमी अनियमितता र असन्तुलन बढ्दै जाँदा कृषिमा गम्भीर असर देखिन थालेको छ। खडेरीले मारमा परेका किसानहरूका लागि वर्षा राहत बन्नुको सट्टा अहिले उल्टै बाली नष्ट गर्ने अभिशाप बनिरहेको छ। 

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like