- by समाचार कक्ष
- Mar 06, 2025
१२ साउन, जनकपुरधाम — जनकपुरधाम उपमहानगरपालिका–४ मा एक २३ वर्षीया महिला रहस्यमय तरिकाले मृत फेला परेकी छन्। चन्दन मण्डलकी पत्नी शोभा मण्डल आफ्नै घरमा राति शव अवस्थामा भेटिएकी हुन्।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति करिब १२:३० बजे शोभा मण्डल झुण्डिएको अवस्थामा भेटिएको खबर प्राप्त भएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा उनको शव ओछ्यानमा रहेको पाइयो। परिवारले झुण्डिएको देखेपछि पासो काटेर ओछ्यानमा राखेको जानकारी प्रहरीलाई दिएका छन्।
प्रहरीका अनुसार घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ। हाल प्रहरी टोली घटनास्थलमा अनुसन्धानमा जुटिरहेको छ।
यता मृतकको माइती पक्षले भने यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेको छ। उनीहरूका अनुसार शोभाको विवाह पाँच वर्षअघि चन्दन मण्डलसँग भएको थियो र दाइजोका विषयमा निरन्तर विवाद हुँदै आएको थियो। दम्पतीकी एक छोरी पनि छन्।
शोभा मण्डलको माइती घर महोत्तरीको बर्दिबास नगरपालिका–१४ माइस्थानमा पर्छ।
प्रहरीले घटना रहस्यमय देखिएको भन्दै सबै पक्षको बयान संकलन गरिरहेको जनाएको छ।